२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

इलाम – २ मा एमालेका नेम्वाङ विजयी, रास्वपासहित १६ उम्मेदवारको जमानत जफत

- विशेष खबर मङ्गलबार १८, बैशाख २०८१ ०७:०२

इलाम – २ मा एमालेका नेम्वाङ विजयी, रास्वपासहित १६ उम्मेदवारको जमानत जफत

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई माअाेवादी केन्द्र, नेपाल परिवार दल र नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाको पनि समर्थन थियो ।

एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।  यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए । 

रास्वपासहित १६ उममेदवारकाे जमानत जफत

इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको छ ।

आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ ।

शनिबार भएकाे मतदानमा यहाँ ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो ।

रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे । त्यस्तै मंगोल नेसनलका मनिबहादुर लिम्बूले ८ सय १६ मत ल्याए । त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राईले ४ सय ८ मत ल्याउँदा राप्रपाका लक्ष्मी गुरुङले ४ सय ४ मत प्राप्त गरे ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ ।


प्रतिकृया दिनुहोस