२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

पीएम कप क्रिकेट सुदूरपश्चिम छनौट : अछामको सान्त्वना जित

- विशेष खबर शुक्रबार २०, पुष २०८० ०६:३५

पीएम कप क्रिकेट सुदूरपश्चिम छनौट : अछामको सान्त्वना जित

धनगढी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ । 

सान्त्वना जित निकाल्ने क्रममा अछामले शुक्रबार खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो । जितका लागि पाएको १ सय ४० रनको सामान्य लक्ष्य पछ्याएको बझाङ २५.२ ओभरमा ८८ रनमा समेटियो ।

बझाङका सनम बुढाथोकीले २१, सुशील रावल र अशोक धामीले १५÷१५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् । अछामका रोहित खड्काले ४ र युवराज खत्रीले ३ विकेट हात पारे । 

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो । 

टस जितेर पहिला ब्याटिङ गरेको अछाम २८.४ ओभरमा १३९ रनमा अलआउट भयो । जसमा कप्तान राजु रिजालले सर्वाधिक ४९ रनको योगदान गरे । बझाङका भरत चन्द, सुशील रावल र प्रकाश रोकायाले २÷२ विकेट लिए ।

अछामका रोहित खड्का म्यान अफ द म्याच चुनिए । योजित संगै अछाम एलाइट च्याम्पियनसिपमै सुरक्षित रहेको छ । प्रतियोगिताका सबै खेल हारेको बझाङले भने पुनः प्लेट च्याम्पियनसिप तथा क्वालिफायर खेल्नुपर्नेछ ।

प्रतियोगिता अन्तरगत शनिबार बैतडी र कञ्चनपुर प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि  शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।
 


प्रतिकृया दिनुहोस