२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

हेलिकाेप्टर अगाडि नातिनी-ज्वाइँसित उभिएकाे प्रधानमन्त्रीकाे फाेटाेकाे वास्तविकता के हाे ?

- विशेष खबर बुधबार ११, पुष २०८० ११:३५

हेलिकाेप्टर अगाडि नातिनी-ज्वाइँसित उभिएकाे प्रधानमन्त्रीकाे फाेटाेकाे वास्तविकता के हाे ?

काठमाडाैं । बुधबार साझ प्रधानमन्त्री पुष्पकमल दाहाल नातिनी-ज्वाइँसहित आफन्तहरूसँग हेलिकाेप्टर अगाडि उभिएकाे फाेटाे भाइरल भएकाे छ ।

फाेटाेका बारेमा सामाजिक सञ्जालमा अनेकथरी टिप्पणी भइरहेका छन् । कतिपयले प्रधानमन्त्री सेनाकाे हेलिकाेप्टरमा आफन्त घुमाउन डुलेकाे भन्दै आलाेचना गरेका छन् ।  

बुधबार प्रधानमन्त्री बुधबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गतको कार्यक्रममा सहभागी हुन आफ्नी नातिनीको घर भएको गोरखाको गण्डकी गाउँपालिकामा पुगेका हुन्।

गण्डकी गाउँपालिका-७ घ्यालचोकमा उनकी नातिनी प्रतिभा पाठक र ज्वाइँ विज्ञानबाबु रेग्मीको घर पर्छ। प्रधानमन्त्री  त्यहाँ पुगेपछि नातिनी र ज्वाइँलाई भेट्न घरमै पुगेका थिए।

पछि सम्धी-सम्धिनी, नातिनी र ज्वाइँसहित प्रधानमन्त्री दाहालले आफू चढेर गएको हेलिकप्टरलाई पृष्ठभूमिमा राखेर फाेटाे खिचाएका थिए। कार्यक्रममा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री स्वयंले फोटो खिचौं भनेपछि खिचिएको थियो।

बुधबार बारपाक सुलिकोटको कार्यक्रम सकेर सेनाको हेलिकप्टरमार्फत गण्डकी गाउँपालिका पुगेका थिए।

उक्त फाेटाे प्रचण्डको सचिवालयका सदस्यबाटै सार्वजनिक भएपछि त्यसको ब्यापक विरोध भएको छ। प्रधानमन्त्रीको सचिवालयले भने फाेटाेहरूको भाव बंग्याएर सामाजिक सञ्जालमा विरोध गरेको भन्दै आपत्ति जनाएको छ।

प्रधानमन्त्रीका निजी फोटोग्राफर प्रदीपराज वन्तले भनेका छन्, 'बारपाक सुलिकोट गाउँपालिका ताकुकोट र ज्यामिरेघाट, घ्यालचोक, गोरखामा आयोजित औपचारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्रीले भर्खरै नवविवाहित नातिनी-ज्वाइँको परिवारलाई भेटेको तथा हेलिप्याडमा विदाइ गर्दा मैले कैद गरेको तस्बिरको कुरालाई लिएर अतिरञ्जनापूर्ण ढंगले अनावश्यक भ्रम नछर्न हार्दिक अनुरोध गर्दछु ।'

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले निर्वाचन क्षेत्रमा गएका बेला आफन्तलाई भेटेको तस्बिर राखेर अफवाह फैलाउने काम भएको बताएका छन्। 'सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तहरूसँग भेट भएको र त्यतिखेर लिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत ढंगले अफवाह फैलाउने काम भइरहेको छ,' मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, 'यस्ता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोशिस भइरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं।'


प्रतिकृया दिनुहोस