२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

‘पशुपति प्रसाद २ : भष्मे डन’ ले कति कमायाे ?

- रासस बुधबार ०८, कार्तिक २०८० ०६:४१

‘पशुपति प्रसाद २ : भष्मे डन’ ले कति कमायाे ?

काठमाडौं । दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ ।

यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड चालीस लाख रूपैयाँको हाराहारीमा व्यापार गरेको जानकारी दिए ।

'दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ । यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौँ । त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको सङ्केत गरेको छ,' निर्माता लामिछानेले भने ।

सातवर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् । 

उनले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रुपमा दर्शकले रुचाएको बताए । 'समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ । उसमा पशुपति प्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाई पनि छ,' अभिनेता कार्कीले भने,'यही चरित्रमार्फत म दर्शक माझ परिचित बनेँ । यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो । अहिले दर्शकको प्रिय बनेको छ ।'

चलचित्र भवन पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले जानकारी दिए । यसलाई ‘पशुपति प्रसाद’ को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए । उनले भने,'यसमा कथालाई निरन्तरता दिएका छौँ । सबै पात्र हुनुहुन्छ । त्यसैले यो पहिलो भागकै निरन्तरता हो ।' 

चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रका वितरक करण श्रेष्ठले चार दिनमा रु छ करोड बढीको कुल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिए। उनले भने, 'चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौं । नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ । पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ । यद्यपि तथ्याङ्क दसैँ सकिए लगत्तै सार्वजनिक गर्नेछौँ ।'


प्रतिकृया दिनुहोस