- विशेष खबर बिहिबार ३२, साउन २०८० ११:४७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गु सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई उपचार प्रभावकारी बनाउन निर्देशन गरेको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन् ।
उनले अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिक सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार डेङ्गु सङ्क्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ । यस्तै सङ्क्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको डेंगुबाट निधन भइसकेको छ ।
सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा सङ्क्रमण देखिएको छ । सुनसरीमा मात्र कुल सङ्क्रमितको ५२ दशमलव दुई प्रतिशत रहेका छन् ।
महाशाखाका निर्देशक डा मरासिनीले डेङ्गु रोगको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएका छन् ।
'दैनिक डेङ्गु सङ्क्रमण बढिरहेको छ । सङ्घअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेङ्गु रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छाैं,' उनले भने।
डेङ्गु रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गु रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनाअुनसार कार्य गर्न र डेङ्गु रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितसमेत गर्न अस्पताललाई भनिएको छ । महाशाखाले अहिलेको अवस्थामा डेङ्गु सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।
उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङ्क्रमण ह्वात्तै बढिरहेको बताए। डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस