२०८२ पुष २७ गते आइतबार | 11 January, 2026

सनम हत्या र ३३ किलो सुन काण्ड : गोरेसहित ६ जनालाई जन्मकैद फैसला

मङ्गलबार १९, असोज २०७८ ०९:४९

सनम हत्या र ३३ किलो सुन काण्ड : गोरेसहित ६ जनालाई जन्मकैद फैसला

 माेरङ । जिल्ला अदालत मोरङले सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाएकाे हाे । अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई ६ महिना कैद सजाय फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए ।

गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताए ।

मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको उनले जानकारी दिए।

जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो ।


प्रतिकृया दिनुहोस