२०८२ असार २० गते शुक्रबार | 4 July, 2025

तीज र गौरा मनाउन रोक

आइतबार ३२, साउन २०७७ ११:०३

तीज र गौरा मनाउन रोक
बैतडीकाे दशरथचन्द नगरपालिका ७ सुरकालमा गाैरा पर्व मनाउन भेला भएका स्थानीय । फाइल तस्बिर

बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा तथा हिन्दू महिलाको ठूलाे पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ ।

तीज, गौराजस्ता पर्वहरु नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

नित्यपूजा र घरायसी पूजाबाहेक सामूहिकरूपमा गौरा, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।  
 
तीज भदौ ५ गते र गौरा पर्व भदौ १० गते परेको छ।

यस्तै जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी, तालिमलगायत भीडभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको छ ।

यसैगरी भारत अथवा तेस्रो मुलुकबाट फर्केका नागरिकलाई अनिवार्य स्थानीय तहको क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय भएको छ ।
 

 


यस्तै स्थानीय तहहरुले आफ्नो क्षेत्रमा सङ्क्रमणको दर हेरेर लकडाउन गर्न सक्ने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आएमा सो कार्य कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय भएको प्रजिअ जोशीले जानकारी दिए । 

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्य सेवा, सुरक्षा र सार्वजनिक सेवा प्रवाहका लागि अग्रमोर्चामा काम गर्ने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको पिसीआर परीक्षण गर्ने निर्णयसमेत भएको छ ।

बैतडीमा हाल ३२३ कोरोना सङ्क्रमित छन् । तीमध्ये चार जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

 

 

 

 

 


#पर्व

प्रतिकृया दिनुहोस